कञ्चनपुरमा सामुदायिक वनका पदाधिकारी विरुद्ध पक्राउ पूर्जी जारी

अर्जुन सिहँ

झलारी, कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ स्थित जनज्योती सामुदायिक वनका पदाधिकारीहरु विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ। अवैध रुपमा सामुदायिक वनमा काठ कटान गरी ओसारपसारमा सग्लन रहेको भन्दै वनका पदाधिकारीहरु विरुद्ध डिभिजन वन कार्यालय कञ्चनपुरले पक्राउ पूर्जी जारी गरेको हो।

वनका अध्यक्ष रुकेश विष्ट, सचिव वसन्ती भण्डारी र कोषाध्यक्ष अर्जुन बहादुर विष्ट विरुद्ध पक्राउ पूर्जी जारी गरिएको शुक्लाफाँटा सव डिभिजन वन कार्यालय झलारीका वन अधिकृत गणेश ठगुन्नाले बताए। उनले भने, ‘सामुदायिक वनको स्वीकृत कार्ययोजना विपरित काठ कटान गरिएकोले वन ऐन अनुसार उनीहरु विरुद्ध वनले मुद्दा चलाएको हो।

सामुदायिक वनका पदाधिकारीहरुलाई लिखित तथा मौखिक जानकारी गराउँदा सम्पर्कमा नआएपछि पक्राउ पुर्जी जारी गरिएको हो।’ माघ १० गते काठ काटिएको उजुरी परेपछि सामुदायिक वनबाट गोलिया र चिरान गरेको करिब एक सय क्युफिट बराबरको काठ बरामद गरि नियन्त्रणमा लिईएको थियो।

वनका अध्यक्ष रुकेश विष्टले उक्त काठ तस्करहरुले काटेको अवस्थामा फेला परेको र बरामद गरिएको काठको मुचुल्का उठाई सामुदायिक वनको नयाँ ४ कोठे भवन निर्माण भईरहेकोले बैठक बसी उक्त काठ भवन निर्माणमा प्रयोग गर्ने लिखित निर्णय गरेको दाबी गर्दै आएका छन्।

यता वनका उपभोक्ताहरुले सामुदायिक वनका पदाधिकारीको मिलोमतोमा अवैध रुपमा रुख कटान गरी ल्याएको काठको बिषयमा थाहा पाएपछि हतारहतार निर्णय गरेर उक्त काठ सामुदायिक वनको भवनको लागी प्रयोग गर्ने भनेर भनिएको आरोप लगाएका छन्।