र्‍यापिड टेस्ट किटकै विश्‍वसनीयता परीक्षणका लागि नमुना संकलन

(धनगढी) — कोरोना भाइरस संक्रमणको जोखिममा उच्च रहेको भन्दै सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा ‘र्‍यापिड डायग्नोस्टिक टेस्ट’ (आरडीटी) बाट धेरैभन्दा धेरै व्यक्तिहरुको परीक्षण गर्ने बताए पनि पहिलो चरणमा सो किटकै विश्वसनीयता परीक्षण गरिने भएको छ ।

आरडीटीको विश्वसनीयता परीक्षण गर्ने उद्देश्यले मंगलबारदेखि कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका व्यक्तिको रगत तथा थ्रोट स्वाब संकलन गर्न सुरु गरिएको छ। यसरी संकलन गरिएको रगतको आरडीटीमा परिक्षण गरिने छ भने त्यसको परिणाम यकिन गर्न स्वाबको पीसीआर परीक्षण पनि हुने छ। दुई सयवटा नमुनाको परिक्षण गर्दा धेरैको परिणाम एउटै आए अनि मात्रै मास टेस्टिङ सुरु हुने छ।

‘यतिबेला र्‍यापिड टेस्टिङ किट्सको प्रयोग हुने होइन,’ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख तथा कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले भने, ‘एउटै व्यक्तिको रगतको नमुना र थ्रोट स्वाबको नमुना बेग्लाबेग्लै संकलन गरेर क्रस चेक गर्ने योजना रहको छ।’ कैलालीमा एक सय र कञ्चनपुरमा एक सय गरी दुई सयको नमुना संकलन गरेर काठमाडौं पठाउने योनजा बनेको छ।