पश्चिम नेपालका छ जिल्लामा डिसिएको राहत सहयोग

 काठमाडौं : डेनमार्कको गैह्रसरकारी संस्था डिसिए नेपालले स्थानीय संस्थाहरुको सहकार्यमा विभिन्न जिल्लामा लगभग ६५ लाख बराबरको राहत तथा स्वास्थ्य सामग्रीको वितरण गरेकोछ। हालसम्म कञ्चनपुर, बर्दिया, बाँके, दैलेख, कैलाली र डोटी जिल्ला गरी १ हजार पाँच सय ६६ घरपरिवारलाई स्थानीय सरकारले तोकेबमोजिमको खाद्य सामग्री वितरण गरिसकेको सो संस्थाले जनाएको छ।

त्यस्तै विभिन्न पालिकाहरुको समन्वयमा क्वारेन्टाईनका लागी १४० बेड बनाउन पुग्ने सामग्री, ५७ पिपिईसेट, १२ थर्मलगन, २७१ लिटर ‘स्यानिटाईजर, १६१ प्याकेट चिकित्सा ग्लोभ्स, १७६३ स्यानेटरी प्याड, १ हजार ६२ साबुन तथा १०० सेट बाल्टिन र जग वितरण गरेको बताइएको छ। डिसिएले थप सहयोगका लागी पालिकाहरुसँग समन्वय भइरहेको बताएको छ । “सरकारले आफ्नो क्षेत्रबाट गर्न सक्ने काम गरिरहेको छ ।

तर यो महामारीसँग लड्न सरकारको एक्लो प्रयासले मात्रै पुग्दैन, त्यसैले हामीले अपिल गरे अनुसार नै वहाँहरुले सहयोग गरिरहनुभएको छ,” दैलेख जिल्लाको आठबिस नगरपालीकाका मेयर खड्गराज उपाध्यायले बताएका छन। राहत तथा स्वास्थ्य सामग्रीका साथै डिसिएले यिनै जिल्लाहरुमा स्थानीय रेडियोसँग सहकार्य गर्दै साझेदारी नामको रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण पनि गर्दै आएको छ।