आरडीटीले अन्याेल मात्रै

काठमाडौँ — कोभिड–१९ पहिचानका लागि आरडीटी किटबाट करिब आधा लाख नमुना परीक्षण भइसके पनि यसको विस्तृत नतिजा सार्वजनिक गरिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मान्यता नदिएको यो किटको प्रभावकारिताबारे विश्लेषणसमेत भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म मुलुकमा ४९ हजार ६ सय ८८ नमुना आरडीटीबाट परीक्षण गरिएको छ । ‘आरडीटी किटबाट देशभरि गरिएको नमुना परीक्षण गर्दा कतिवटा रिपोर्ट पोजिटिभ देखियो भन्ने विज्ञहरूले जान्नु आवश्यक छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘तर किटको भ्यालिडेसन (गुणस्तर प्रमाणीकरण) को नतिजासमेत सार्वजनिक गरिएको छैन ।’ विज्ञहरूले भने आरडीटीभन्दा पीसीआर विधिबाट परीक्षण दायरा बढाउनुपर्ने सुझाव सरकारलाई निरन्तर दिइरहेका छन् । सरकारसँग अब करिब २५ हजार आरडीटी किट बाँकी छ ।

आरडीटी किटका विषयमा व्यापक विवाद भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गुणस्तर प्रमाणीकरण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको थियो । उक्त किटबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले समेत अध्ययन गर्ने बताइएको थियो । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य अनुसन्धान परिषद् र प्रदेश ७ का सरकारको संयुक्त प्रयासमा आरडीटी किटको गुणस्तर प्रमाणीकरणसँगै अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइए पनि नतिजा सार्वजनिक गरिएको छैन ।

‘अहिले प्रयोग गरिरहेको आरडीटी किटले अन्योल मात्र भइरहेको छ’, नारायणी केन्द्रीय अस्पताल वीरगन्जका डा. नीरज सिंहले भने, ‘स्तरीय आरडीटी किटले आईजीजी, आईजीएम प्रस्ट रूपले छुट्याउँछ । यसबाट हालको वा पुरानो संक्रमण छुट्याउन सजिलो हुन्छ ।’

हाल यहाँ प्रयोग भइरहेको चिनियाँ कम्पनीकै आरडीटी किटबाट परीक्षण भारतमा रोकिएको उल्लेख गर्दै डा. सिंहले भने, ‘यो आरडीटीको रिपोर्ट बढी गलत देखियो ।’

उनले आरडीटी किटबाट परीक्षण गर्दा के फाइदा भयो, भविष्यमा यस्तो किट उपयोग गर्ने वा नगर्ने, किटको गुणस्तर प्रमाणीकरणको नतिजा के देखियो लगायतबारे जानकारी सार्वजनिक हुन अत्यावश्यक रहेको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलजिस्ट डा. श्रवणकुमार मिश्रले किटको प्रमाणीकरणबाट यसको संवेदनशीलता थाहा हुने बताए । कोभिड–१९ को लक्षणसँग मिल्दोजुल्दो मौसमी रुघाखोकी (सिजनल इन्ºलुएन्जा), डेंगु, क्षयरोग, एचआईभी पोजिटिभ भएकाहरूमा यो द्रुत परीक्षण किटले शतप्रतिशत नतिजा नेगेटिभ देखाउँछ वा देखाउँदैन भन्नेबारे समेत परीक्षण हुन आवश्यक रहेको उनले बताए । ‘यी चारै किसिमको बिरामीमा शतप्रतिशत नेगेटिभ नतिजा देखाए मात्र यो किटले कोभिड–१९ मा मात्र पोजिटिभ देखाउँछ भन्न सकिन्छ,’ उनले भने ।