नेपालगञ्ज संक्रमण देखिएपछि संवेदनशील हुनु पर्ने अवस्था आयो : मेयर विष्ट

महेन्द्रनगर – भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नेपालगञ्जमा कोरोना भाइरस संक्रमति देखिएपछि रोकथाम र नियन्त्रणका लागि संवेदनशील हुनु पर्ने अवस्था आएको बताउनु भएको छ । भीमदत्त नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि पत्रकारहरुसित आयोजना गरेको छलफल कार्यक्रममा नगर प्रमुख विष्टले नेपालगञ्जमा देखिएको संक्रमणले समुदाय स्तरमा फैलिने खतरा बढेकोले संवेदनशिल हुनु पर्ने बताउनु भयो ।

‘नेपालगञ्ज घट्नाले सामुदायिक स्तरमा जान सक्ने देखिएको छ, त्यस कारण अझै व्यवस्थित रुपमा रोकथाम र नियन्त्रणका कार्यक्रम गरिनु पर्ने आवश्यकता देखियो’ नगर प्रमुख विष्टले भन्नु भयो,‘अब रोकथाम र नियन्त्रणका लागि व्यवस्थित योजना नबनाई हुँदैन ।’ विश्वव्यापारी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि औषधि बन्न नसकेको तथा लक्ष्मणहरु देश अनुसार फरक देखिएकाले सबैले एकजुट भएर लाग्नु पर्नेमा नगर प्रमुख विष्टले जोड दिनु भयो ।

नगर प्रमुख विष्टले खुला सीमाका कारण कारण भारत र नेपाल एक अर्को देशमा कोरोना पूर्ण रुपमा रोकथाम र निर्मूल नभएसम्म खतरामा रहने बताउनु भयो । ‘भारतमा पूर्ण रुपमा नियन्त्रण र उन्मूलन नभएसम्म नेपाल कोरोना मुक्त हुन सक्दैन, यसैगरी नेपालमा पूर्ण नियन्त्रण र उन्मूलन नभएसम्म भारत मुक्त हुन सक्दैन’ नगर प्रमुख विष्टले भन्नु भयो,‘ख्ला सीमाका कारण दुबै देशलाई कठिनाई छ ।’

भारत सरकारले भीमदत्त नगरपालिकाबाट नजिक पर्ने नैनिता, बरेली र देहरादुन रेड जोनमा राखेकाले भीमदत्त नगरपालिका त्यहाँको अवस्था विश्लेषण गरी अघि बढेको नगर प्रमुख विष्टले बताउनु भयो ।

नगर प्रमुख विष्टले दुबै देशले कोरोना संक्रमण रोकथामका लागि गरेको सहमति अनुसार आपशी समन्वय र सहकार्यका आधारमा अघि बढ्नु पर्नेमा जोड दिनु भएको छ ।‘लकडाउनपछि जो जहाँ छन्, त्यहीं बस्ने व्यवस्था मिलाउने सहमति गरिएको छ, नगर प्रमुख विष्टले भन्नु भयो,‘सहमति अनुसार अघि बढ्नु पर्छ, सहकार्य र समन्वय गरी जानु पर्छ ।’

कोरोना संक्रमण महामारी भावना पोखेर समाधान नहुने उल्लेख गर्दै नगर प्रमुख विष्टले भन्नु भयो,‘मानव जाति र मानव सभ्यता खतरामा छनु, यसलाई रोकथाम र नियन्त्रणका लागि भावनामा बगेर होइन, पूर्व तयारी र सतर्कता अपनाएर जानु पर्छ ।’भीमदत्त नगरपालिका कोरोना संक्रमण रोकथामका लागि दुई महिनादेखि सक्रिय रुपमा लागेको उल्लेख गर्दै नगर प्रमुख विष्टले नगर क्षेत्रमा सुरक्षा व्यवस्थित बनाउन स्थानीय प्रशासनसित समन्वय गरी अघि बढेको बताउनु भयो । लकडाउनमा कालोबजारी, अवैध भण्डार, गोदामीकरण लगायतका गलत कार्य रोक्न नगरपालिका स्थानीय प्रशासनसित समन्वय र सहकार्य गरी अघि बढ्ने बताउनु भयो ।