नेपाली भूमिमा भारतले बाटो बनाउदा सर्वत्र विरोध, परराष्ट्रमन्त्री ज्ञवाली मौनदर्शक

काठमाडौँ  – भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग खोलेप्रति आम नेपाली नागरिकले कडा आपत्ति जनाएका छन् भने सरकार मौन बसेको छ । नेपाली पक्षसँग कुनै सल्लाह नगरी एकतर्फी रूपमा निर्माण गरिएको उक्त सडक शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्नुभएको थियो ।

पराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाली भूमिमा भारतले सडक बनाएर गाडी दौडाएको बारेमा अनविज्ञता व्यक्त गर्दै बुझ्ने काम भइरहेको प्रतिक्रिया दिने गर्नुभएको छ । सडक निर्माण सम्पन्न गरेर उद्घाटन गरिसक्दा समेत सरकारले थाहा नपाउनु अर्को दुर्भाग्यपूर्ण कुरा भएको अधिकांश नेपालीहरुको भनाई छ ।

उनीहरुले यस बारेमा तत्काल भारतसँग वार्ता गरेर नेपाली भुमि फिर्ता गराउन सामाजिक सञ्जाल मार्फत् माग गरेका छन् । त्यसैगरी विभिन्न दलका नेता, नागरिक अगुवा, बुद्धिजिबी, पत्रकारलगायतले पनि सडक निर्माण भइसक्दासम्म नेपाल सरकार बेखबर हुनु सरकारको राष्ट्रवाद उदाङ्गो भएको आरोप लगाएका छन् ।

काँग्रेस नेता डा चन्द्र भण्डारीले नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाई उद्घाटन गर्दा समेत नेपालको संसदमा नेताहरुको सम्बोधनका क्रममा एक शब्द नबोल्नु दुर्भाग्य भएको टिप्प्णी गर्नुभएको छ । उहाँले सम्बन्धित मन्त्रीहरु निरिह देखिएको र यस्तो अवस्थाम पनि सत्तारुढ दलका नेताहरु सिंहासनको म्युजिकल रेसमा दौडीनु दुखद भएको बताउनु भएको छ ।

भारतले २०१९ नोभेम्बरमा दार्चुलाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने उक्त भूभागलाई आफ्नोपट्टि पार्दै नयाँ राजनीतिक नक्सा जारी गरेपश्चात् उत्पन्न समस्या समाधान नभइरहेका बेला चीन जोड्ने सडकमार्ग बनाएको हो ।