कञ्चनपुरमा लागु औषध सहित दुई जना पक्राउ

कञ्चनपुर-  कञ्चनपुरको महेन्द्रनगरमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् । लकडाउनका बेला अत्यावश्यक कामकाज बाहेक घर बाहिर ननिस्कन प्रहरीको आग्रह लत्याउँदै महेन्द्रनगर बजार पुगेका दुई जनाबाट सशस्त्र प्रहरीले लागु औषध नियन्त्रणमा लिएको हो ।सशस्त्र प्रहरी निरीक्षक माधव जोशी नेतृत्वको टोली बिहीबार बिहानैदेखि महेन्द्रनगर बजारमा खटिएको थियो ।

त्यही टोलीले गेलन सहित मोटरसाईकलमा आएका भीमदत्त नगरपालिका ७ हल्दुखाल क्षेत्रका पुष्कर कुँवर र गणेश कुँवरको साथबाट ३० ग्राम चरेश बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।उनीहरुको साथबाट ७ हजार ४सय २० रुपैया समेत बरामद गरिएको छ । शसस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति बिरसिह शाहुले लकडाउनका बेला खटिएको शसस्त्र प्रहरीले संस्कापद व्यक्तिमाथि चेकजाँच गर्दा मोटरसाईकलमा सवार दुईजनाको साथबाट लागु औषध फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताए ।

लकडाउनका बेला अवाञ्छित गतिबिधी हुनसक्ने भन्दै सशस्त्र प्रहरीले सीमादेखि शहरगाउँ टोल क्षेत्रमा गस्ती बढाएको छ । यसअघि लकडाउनकै समयमा सशस्त्र प्रहरीले बेलडाँडी क्षेत्रबाट लागु औषध, दुई जना तस्करको साथबाट ब्राउन सुगर सहित उनीहरुलाई पनि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो ।

सशस्त्र प्रहरीले कञ्चनपुरमा यसअघि कोरोनाको चेन तोड्नेदेखि हतियार बोक्ने जनप्रतिनिधीको गाडी नियन्त्रणमा लिएको थियो ।कोरोना भाईरस रोकथामका लागि गरिएको लकडाउनको पालना गर्न पटक पटक स्थानीय प्रहरीले नागरिकमा आब्हान पनि गर्दै आएको छ ।