कञ्चनपुरको गड्डाचौकी नाका आजदेखि खुल्दै

कञ्चनपुर- लकडाउनका कारण भारतमा अलपत्र परेकाहरुको उद्धारका लागि नेपालको पश्चिमी सिमानाका गड्डाचौकी सोमवार खुल्ने भएको छ । भारतका विभिन्न ठाउँमा अलपत्र परेकाहरूलाई उद्धारका लागि सोमबार मध्यान्न १२ बजेदेखि बेलुका ६ बजेसम्म गड्डाचौकी नाका खुल्ने भएको हो । गड्डाचौकी नाका खुल्ने जानकारी पछि घर आउनका लागि अन्य नाकामा रोकिएका मानिसहरु पनि गड्डाचौकीस्थित दशगजा क्षेत्रमा जम्मा हुन थालेका छन् ।

गड्डाचौकी नाका पूर्णरूपमा बन्द हुँदा लुकीछिपी नेपालीहरू भित्रिन थालेका छन् । त्यो अवैध कार्य रोक्न भन्दै गड्डाचौकी नाका खोलेर उनीहरूको उद्धार गर्न लागिएको हो । उद्धार गरिएकाहरूको स्वास्थ्य परीक्षण गरेर उनीहरूको स्थायी क्षेत्रमा पठाइने प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । उनका अनुसार सोमबार एक दिनका लागि मात्रै दशगजामा अलपत्र परेकालाई व्यवस्थित प्रवेश गराएर सम्बन्धित पालिकामा पठाइने छ ।

पठाउन नसकिएकाहरुलाई सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस लगायतका क्वारेन्टिनमा राखिने छ । भित्रिनेहरुको सामान्य स्वास्थ्य परीक्षण हुने र शंकास्पद लक्षण देखिएकालाई आइसोलेसनमा पठाउने पनि सिडियो खतिवडाले बताए ।

उनले गड्डाचौकीबाहेक अन्य नाकामा प्रवेश निषेध गरिने बताउँदै ती अवैध नाकाबाट प्रवेश गर्नेहरुलाई नेपाल पस्न नदिइने सुरक्षा व्यवस्था गरिएको जानकारी दिए । खतिवडाले सोमबार भित्रिनेको चाप हेरेर गड्डाचौकीबाट प्रवेश जारी राख्ने वा नराख्ने भन्ने निर्णय लिइने बताएका छन् ।

लकडाउनमा कडाई

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरमा सोमवार (आज) देखि फेरि लकडाउन कडा पारिएको छ । झण्डै एक महिना सुदूरपश्चिममा कोरोना संक्रमण शुन्य भए पछि केही खुकुलो पारिएको लकडाउन पछिल्ला दिनमा संक्रमित बढ्न थाले पछि सोमबारदेखि फेरि कडा पारिएको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना संक्रमणको जोखिम अत्याधिक मात्रामा बढ्दै गएकाले अत्यावश्यक औषधि उपचार बाहेक अनावश्यक घर बाहिर निस्किन प्रतिबन्ध गरेको छ ।

औषधि बाहेक तरकारी, फलफूल तथा खाद्यान्न पसल, बैंक तथा सम्पूर्ण व्यापार व्यवसाय अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । ‘भारतबाट आउने मानिसको संख्या धेरै भयो, यसलाई व्यवस्थापन गर्न सकिएन, यसले संक्रमण जोखिम बढाएकाले लकडाउनमा कडाई गरिएको छ’ उनले भने ।

वैशाख २७ गतेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउन केही खुकुलो गर्दै तोकिएका स्वास्थ्य सुरक्षा उपाय अपनाएर खाद्यान्न, फलफूल, तरकारी र दुग्धजन्य पदार्थलगायत अत्यावश्यक सामाग्री बिक्री गर्ने पसल खोल्न अनुमति दिएको थियो । लकडाउन खुकुलो पारिए पछि बजार क्षेत्रमा भिडभाड हुन थालेकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फेरि लकडाउन कडाई गरिएको हो ।

एक महिना यता नयाँ संक्रमित नदेखिएको सुदूरपश्चिममा भारतबाट उद्धार गरी ल्याइएकासहित १५ जनामा संक्रमण देखिएको छ । तीमध्ये कैलालीका चार र कञ्चनपुरका एक गरी पाँच जना निको भएर घर फर्किसकेका छन् ।

सेती प्रादेशिक अस्पतालमा चार जना, टिकापुर अस्पताल कैलालीमा तीन जना, जिल्ला अस्पताल बैतडीमा एक र डडेल्धुरा अस्पतालमा एक जना गरी सुदूरपश्चिमका कोरोना संक्रमितको अहिले चार वटा अस्पतालमा उपचार भइरहेको छ ।