सुदूरपश्चिमका विभिन्न ठाउँमा निषेधाज्ञा जारी

कञ्चनपुर – सुदूरपश्चिमका विभिन्न क्षेत्रमा सरकारले पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागू गरेको हो । गृह मन्त्रालयले दार्चुला, कैलाली, बझाङ, जिल्लामा निषेधाज्ञा लागू गरेको छ । दार्चुलाको मार्मा गाउँपालिकामा अर्काे आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

बझाङको थलारा गाउँपालिकाको वडा नम्बर ५ र केदारस्युँ गाउँपालिकाको वडा नम्बर ६ र ७ मा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।गृह मन्त्रालयले दार्चुलाको मार्मा गाउँपालिका, बझाङको थलारा गाउँपालिकाको वडा नम्बर ५ र केदारस्युँ गाउँपालिका वडा नम्बर ६ र ७ का बिषयमा निर्णय गरे पनि सुदूरपश्चिम प्रदेशका अन्य केहि स्थानीय तहले आफै लकडाउन र सिल गर्ने निर्णय गरेका हुन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि ३ वडा सिल गरिएको छ ।भीमदत्त नगरपालिका वडा नम्बर १२ मा कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै मंगलवार राति १० बजेदेखि लागू हुने गरी वडालाई लकडाउन गरिएको जानकारी दिइएको छ । यसअघि १३ र १७ नम्बर वडाले पनि जोखिम बढ्दै गइरहेको भन्दै वडालाई सिल गरिसकेका छन् ।

दार्चुलाकै नौगाड गाउँपालिकाले एक वडाबाट अर्काे वडामा प्रवेश बन्द गरिएको छ भने बिहीबारदेखि लागू हुने गरी कैलालीको कैलारी गाउँपालिकाले पनि लकडाउन गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितहरू बढ्न थालेपछि कहीँ गृह मन्त्रालयले त कहीँ स्थानीय तह आफैले लकडाउन र सिल गर्ने निर्णय गरेका हुन् । अहिले सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार नजिक छ ।