कोरोना नियन्त्रणमा सरकारको भूमिका कमजोर

भोजेन्द्र बस्नेत/काठमाण्डौ – नेपालमा दोस्रो व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनासाथ लकडाउन सुरु भयो । मुखैमा आएको एसईई समेत रोकियो । एकाएक जनजीवन ठप्प भयो । सीमामा हजारौँ मानिस अलपत्र परे । हजारौं मानिस सयौं किलोमिटर हिँडेर सुरक्षित ठाउँमा पुगे । एक्कासी यति धेरै आतंक फैलाइयो कि मानौं कोरोनाले सखापै पार्न लागेको छ ।

मानिसहरु अत्यावश्यक काम विना घरबाट बाहिर निस्केनन् । मानिससँग मानिस ठोक्किरहने सडक समेत सुनसान भए । सरकारले गरेको आग्रह नागरिकले खुरुखुरु पालना गरे । कोरोना भाइरस नियन्त्रणका लागि त्यही मौका सुन्दर थियो । सरकारले सामान्य कसरत गरेको भए भाइरस नियन्त्रणका लागि त्यत्तिको उपयुक्त समय न त अहिले छ, न त अब कहिल्यै आउँछ ।

अब त निकै कसरत नगरी कोरोना भाइरस नियन्त्रणमा नआउने पक्का भैसकेको छ । त्यो पनि ठूलो जनधनको क्षति बेहोरेर । सहज रुपमै भाइरसलाई काबुमा राख्न सक्ने अबस्था हुँदाहुँदै पनि सरकार चुक्यो, जसको पीडा अहिले आम नागरिकसँगै सिंगो देशले भोग्नुपरेको छ ।

आधारभूत तहमै प्रभावकारी काम 

विश्वका जति देशले भाइरसलाई काबुमा राखेका छन्, उनीहरुले सङ्क्रमणको आधारभूत चरणमै सुझबुझपूर्ण ढंगले काम गरेका छन् । चाँडो पहिचान र एक जनाबाट अर्कोमा सर्न रोकेर नै भाइरस नियन्त्रणमा लिइएको छ । कोरोना भाइरसलाई काबुमा राखिरहेको न्यूजिल्याण्डलाई हेरौं ।

त्यहाँ महामारीको सुरुआतको चरणमा नै आवश्यक सुरक्षात्मक कदम चालिएको छ । लकडाउन र सीमा बन्दसँगै सङ्क्रमित पहिचान र अलग्याउने कामलाई प्रभावकारी रुपमा गरेकै कारण न्यूजिल्याण्डमा बितेको एक सय दिनदेखि नयाँ सङ्क्रमित भेटिएका छैनन् ।

चीनसँगको लामो सिमाना भएको मंगोलिया र चीनसँग सीमा जोडिएको दक्षिण कोरियाले पनि समयमै सही काम गरेर अहिलेसम्म सम्भावित महामारी रोकेका छन् । दक्षिण कोरियामा परीक्षण र सङ्क्रमितलाई अलग्याउने कामलाई आक्रामक बनाएरै संघारमै आएको उच्च जोखिमलाई रोक्न सक्यो ।

मंगोलियामा एकदमै छिटो विद्यालयहरू बन्द गरिए, अन्तराष्ट्रिय यात्रामा प्रतिबन्ध लगाइयो र मास्क लगाउने तथा हात धुने व्यवहारलाई सुरुको चरणमा नै अपनाइयो । सीमित स्रोत साधनको प्रयोग गरेर मंगोलियाले अत्यन्तै धेरै सफलता पाएको बीबीसीले जनाएको छ ।

नेतृत्वको आडम्बरले सङ्क्रमणको चपेटा

कोरोना भाइरसको फैलावट नियन्त्रण गर्न सम्बन्धित देशका नेतृत्वले निकै धेरै भूमिका खेलेका छन् । कम्युनिष्ट शासन रहेको चीनमा लकडाउनको पालना, स्वास्थ्यसम्बन्धी मापदण्डको पालना, स्वास्थ्य सामाग्रीको गुणस्तर, महामारीका बेला हुन सक्ने अनियमितता रोक्ने जस्ता काम निकै प्रभावकारी भए । उच्च तहको नेतृत्व नै फिल्डमा गएर प्रभावकारी काम गराए ।

चीनले जसरी ठूलो संकटलाई व्यवस्थापन ग¥यो । न्यूजिल्याण्ड, दक्षिण कोरिया लगायतका देशमा पनि कोरोनाको फैलावट नियन्त्रणमा आउनुको मुख्य कारण नेतृत्वको कुशलता नै हो ।

तर जहाँ जहाँ नेतृत्वले यसलाई बेवास्ता गरे, त्यहाँ संकट गहिरियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरस भन्दै उडाइरहे । कहिले मास्कको विरोध गर्ने त कहिले अमेरिका बन्द हुने देश हैन भन्ने, अनि कहिले विश्व स्वास्थ्य संगठनका विरुद्धमा लागिरहने गरेका कारण त्यहाँ भाइरस नियन्त्रणको प्रभावकारी काम भएन । यसैको कारण अहिले अमेरिका विश्वको सबैभन्दा धेरै प्रभावित देशको सूचीमा छ ।
ब्राजिलको हालत पनि त्यही हो ।

ब्रजिलका राष्ट्रपति जाइर बोल्सोनारुले कोरोना भाइरसलाई सामान्य रुघाखोकीको संज्ञा दिए । त्यहाँ लकडाउनका विरुद्धमा हजारौँको सहभागितामा र्याली भयो । अहिले ब्राजिल विश्वका प्रभावित देशको सूचीमा दोश्रो नम्बरमा छ । भारतमा पनि उच्च नेतृत्वले कोरोना भाइरसलाई संवेदनशील रुपमा नलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताइरहेका छन् ।

नेपालमा पनि नेतृत्व नै मुख्य कारक

नेपालमा पनि कोरोना भाइरस अहिलेको अवस्थामा पुग्नुमा सुरुवाती चरणमा गरिएको कमजोरी र नेतृत्वले गरेको बेवास्ता मुख्य देखिन्छ । सरकारले लकडाउन गर्यो र नागरिकले पहिलो चरणमा धेरै हदसम्म पालना पनि गरे । तर त्योबेला न त परीक्षण प्रभावकारी भयो न त मानिसलाई अलग्याउने काम नै ।

बरु सरकार स्वास्थ्य सामग्री खरिददेखि विभिन्न काममा अनियमिततामा मुछिएको चर्चा भैरह्यो । ठेक्का लगाउने र तोड्ने, कमसल सामाग्री ल्याउने, विश्व स्वास्थ्य संगठनले अस्वीकार गरेको आरडीटी विधिको परीक्षणमा अल्झिने जस्ता काम सरकारबाट भैरह्यो । सरकार र उसका आसपासमा मानिसहरु आफ्नो कमजोरी सुधार्नुको सट्टा बचाउमा लागिरहे ।

लकडाउन गरेको पहिलो चरणमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिए । भारतबाट नेपाल आउन चाहने धेरै मानिस सीमामा रोकिए । यदि त्यही समयमा उनीहरुलाई नेपाल ल्याइएको भएमा त्यसबेला भारतमा सङ्क्रमण धेरै फैलिनसकेकोले पछिल्लो चरणको जस्तो धेरै सङ्क्रमित आउँदैन थिए । भारतबाट आएकालाई सरकारले समयमा परीक्षण र अलग्याउने काम प्रभावकारी रुपमा गर्न सकेन । यसैको कारण अहिले ठूलो संकटको मुखमा देश रहेको छ ।

देशमा ठूलो संकट छ । यही बेलामा सत्तारुढ दलभित्र भागबण्डाको राजनीति सुरु भयो । यसको प्रभाव सरकारको काममा पर्यो र कोरोनाले समुदायमा घुस्ने मौका पायो । नेतृत्वबाट भएका यिनै कमजोरीका साथै प्रधानमन्त्रीले नेपालीमा रोग प्रतिरोधी क्षमता भएकोले कोरोनालाई पचाउने जस्ता हास्यास्पद कुरा गरिरहेकोले पनि कोरोनालाई फैलन सजिलो भयो ।

प्रधानमन्त्रीले बेसार पानीले कोरोना रोकिने, प्रतिरोधी क्षमता बढी भएको कारण कोरोनासँग त्यति डराउन पर्दैन जस्ता अभिव्यक्ति दिएपछि मातहतको संयन्त्र पनि त्यही गतिमा परिचालित भयो । गर्नुपर्ने धेरै काम भएनन् ।

लामो लकडाउनका कारण अर्थतन्त्र तहसनहस र मानिसहरुको गाँस नै टुट्ने अवस्था आएपछि सरकारले लकडाउन खोल्यो । तीन महिना लामो लकडाउन खोल्दा सरकार भने पहिलेकै अवस्था थियो । न त प्रभावकारी परीक्षण, न त मानिसलाई अलग्याउने काममा पूर्व तयारी । यसको ज्वलन्त उदाहरण संघीय राजधानी रहेको काठमाण्डौमै सङ्क्रमितहरु निर्वाध रुपमा प्रवेश गर्ने र परीक्षण गरेर सङ्क्रमण पुष्टि भैसकेको मानिस समेत हराउनु हो ।

मानिसको स्वाब लिएर परीक्षण हुन्छ । सङ्क्रमण पुष्टि भएपछि तत्कालै उसलाई अलग्याएर उसँगको सम्पर्कमा आएका मानिसको पहिचान गरी परीक्षण गर्नुपथ्र्यो, तर सङ्क्रमण पुष्टि भएका कतिपय मानिस सम्पर्कमै छैनन् । सरकारले कन्ट्याक्ट ट्रेसिङमा कमजोरी गरेको कारण यस्तो हुन पुगेको हो । अहिले थोरै मानिस हुँदा त यो अवस्था छ भने सङ्क्रमितको संख्या बढ्दै गएका के होला ?

नेपालमा कोरोना भाइरस अहिलेको अबस्थामा पुग्नुमा नागरिकले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगर्नु पनि एउटा कारण त हो । तर ठूलो समस्या सरकार अथवा उच्च नेतृत्वबाट आएको हो ।

सुरुवाती चरणमा लकडाउन गर्दा सरकारलाई धन्यवाद दिंदै मापदण्ड पालना गरेका नागरिक त्यसपछि सरकारले प्रभावकारी काम नगर्नु, लकडाउननमा छाक टुटेकाहरुलाई उचित राहात नदिनु, अनियमितताका घटना सार्वजनिक भैरहनु तथा सत्तारुढ दल सरकार ढाल्नेसम्मको खेलमा लाग्नुका कारण निराश भएर बाहिर आएका हुन् ।

नेपालमा बढ्दो संकट

भाइरस समुदायमा फैलनु, सरकार अझै संवेदनशील नबन्नु, प्रधानमन्त्री स्वयं भाइरस रोक्ने रणनीतिको सट्दा विभिन्न विवादित कुरामा समय खर्च गरेर बस्नु जस्ता कारण हाम्रो आगामी दिन निकै पीडादायी हुने संकेत देखिएको छ । अहिले आम नागरिक पनि डराउन छाडेका छन् । कतिपय बाध्यताले रोजीरोटीका लागि सडकमा निस्किएका छन् । यसले संकट झन् फैलने जोखिम बढेको छ ।

लकडाउनलाई खुकुलो पारेपछि फेरि भाइरस फैलिन थालेका अस्ट्रेलिया, स्पेन, फ्रान्स, ग्रीस जर्मनी लगायतका देशहरु जस्तै नेपाल पनि अहिले जोखिमको अवस्थामा पुगेको छ । सार्वजनिक गाडी चलाएर विद्यालयसमेत सञ्चालनको तयारीमा जुटेको सरकार अब फेरि यी तयारी रोक्नुपर्ने अवस्थामा पुगेको छ । यसको कारण लकडाउनका बेला प्रभावकारी काम गर्न नसक्नु हो ।

अबको दिनमा के गर्ने त ? 

उचित खोप र उपचारको लागि भरपर्दो औषधि उपलब्ध नहुँदासम्म सङ्क्रमणलाई फैलन नदिनु नै एक मात्र उपाय हो । यसको लागि सरकारले आधारभूत चरणमै प्रभावकारी काम गर्नुपथ्र्यो । तर विवादै विवादमा फस्दै गएर प्रभावकारी काम हुन सकेन । अब भने सरकार जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ । यसको लागि परीक्षण, पहिचान र अलग्याउने कामलाई नै सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।

जनजीवन ठप्प पारेर समस्याको निकास खोज्नु अब धेरै ढिला भैसक्यो । सुरुका केही महिना बन्द गर्दा नै त्यो हुनुपथ्र्यो । अब पनि बन्द गरेर समाधान खोजियो भने मानिस भोककै कारण नियम उल्लंघन गर्न बाध्य हुन्छन् । त्यसैले स–साना क्षेत्र थोरै समय बन्द गर्दै भाइरसलाई नियन्त्रणमा लिन प्रभावकारी काम हुनुपर्छ ।

अब आम मानिस ‘न्यू नर्मल’मा 

भाइरसको फैलावट रोक्नको लागि आम मानिस न्यू नर्मलमा जानुपर्छ । अब कोरोनाको भरपर्दो खोप र औषधि उपलब्ध नहुँदासम्म घरबाट बाहिर निस्कनसाथ मास्क लगाउन कहिल्यै बिर्सनुहुन्न । आफूबाहेक अरु सबैलाई सङ्क्रमित ठोनेर कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्छ ।

हरेकपल्ट अनुहार छुनुअघि साबुनपानीले राम्रोसँग हात धुनु वा गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्नुपर्छ । भेला तथा भोजभतेरमा जानै हुन्न । घरमा पाहुना बोलाउने र आफू पाहुना लाग्न जाने काम रोक्नुपर्छ । खाना सधैं घरमा वा धेरै विश्वास लागेका ठाउँमा मात्र खानुपर्छ ।

यी काम गर्न असहज भए पनि अब यसको विकल्प छैन । विस्तारै बानी हुँदै जान्छ र विज्ञहरुले भनेको जस्तो खोप उपलब्ध भएपछि वा समाजका धेरै मानिसमा सङ्क्रमण भएपछि बन्ने एण्टिबडी बनेर भाइरस सामान्य बन्दै गएपछि पूर्ववत जीवनमा फर्कने कुरा त छँदैछ । जीवनशैलीलाई व्यवस्थित बनाउँदै र यसको डर घटाउँदै लगेर हामी यो महामारी विरुद्ध जित निकाल्न सक्छौँ ।