‘निषेधाज्ञाले मात्र कोरोना नियन्त्रण हुन्न’

काठमाडौं – चार महिना लामो लकडाउन खुलेपछि मुलुकमा फेरि लकडाउनको अर्को नाममा निषेधाज्ञा जारी गरिएको छ। कारण एउटै हो कोरोना भाइरसको नियन्त्रण तथा रोकथाम। निषेधाज्ञा गरिएपछि झन-झन दैनिक रुपमा संक्रमितको संख्या बढदै गएको छ। लकडाउन खुलेको एक महिनामा १७ हजार ५ सय २६ कोरोना संक्रमित थपिएका छन्। नेपालमा चैत ११ गतेको लकडाउन हुनुभन्दा अगाडि कोरोना भाइरसको संख्या ३४ थियो। तर, त्यहीँ लामो समयको लकडाउन अवधिमा संक्रमितको संख्या १७ हजार ९ सय ६९ थपिएको छ। लकडाउन खुलेपछि संक्रमितको संख्या बढेको छ।

मानिसहरुको भीडभाड र ओहोरदोहोरमा कमि होस भन्नको लागि मुलुकभरका स्थानीय तह र जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरिसकेको छ। उपत्यका लगायत बाहिरका जिल्लामा हाल पूर्ण रुपमा निषेधाज्ञा लागू भएको छ। यहीँ अवधिमा कोरोना संक्रमणको संख्या उच्च दरमा फैलिएको छ। जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि संक्रमितको दर घट्ने आशा गरेको थियो। त्यस विपरीत संक्रमणको दर घट्नुपर्ने झन-झन संक्रमण फैलँदै गएको छ। सरकार निषेधाज्ञा जारी गर्न तल्लिन छ। जनता कोरोनाको त्रासमा घरभित्र बस्न बाध्य छन्।

देशका मुख्य-मुख्य सहरका टोल-टोलमा कोरोना देखिएको छ। संक्रमित बढेसँगै परीक्षणको दायरा बढाउनुपर्ने थियो तर, एक संक्रमित बराबर ५ देखि ७ जनालाई परीक्षण गरिरहेको छ। लक्षण भएका संक्रमितले कोभिड अस्पतालका बेड भरिएका छन्। निषेधाज्ञाको समयमा परीक्षणको दायरा बढाउनुपर्ने, संक्रमितको उपचारको लागि आइसोलेसन बेड,अस्पतालमा आइसियु र भेन्टिलेटर र अक्सिजनको संख्या बढाउनुपर्ने थियो तर,  यसमा संघीय सरकार र स्थानीय तह दुवैको पर्याप्त तयारी देखिएको छैन्। निषेधाज्ञाले अझ परीक्षणको दायरामा चुनौती थपिएको जस्तो भएको छ। मुलुकमा निषेधाज्ञा कहिलेसम्म र अहिले देखिएको जोखिम कहिले सम्ममा नियन्त्रण होला?

‘निषेधाज्ञाले मात्र कोरोना नियन्त्रण हुन्न’ पटक-पटक गरिएको लकडाउन र निषेधाज्ञाले मात्र कोरोना नियन्त्रण गर्न सहयोग नगर्ने जनस्वास्थ्यविद् डाक्टर सुरेश तिवारी बताउँछन्। ‘निषेधाज्ञा गरिएपछि समुदायमा संक्रमण फैलँदै गएको छ,’ उनले भने,’ सरकारले यस समुदायमा कोरोना गयो भन्नलाई ढिलो गर्नुहुँदैन।’ निषेधाज्ञामा सरकारले संक्रमितको पहिचान गरेर परीक्षणको दायरा बढाउनु पर्ने उनले बताए। निषेधाज्ञा गरिएपछि सक्रिय रुपमा कोरोनाको संख्या बढदै गएको उनको दाबी छ।

‘निषेधाज्ञामा सरकारको पहिलो प्राथमिकता कन्टयाक ट्रेसिङ हुनुपर्थ्यो,’ डा. तिवारीले भने,’ संक्रमणको आशंका गरिएका व्यक्तिलाई कोरोना परीक्षण हुनुपर्छ। समुदायमा कोरोना देखिएको छ निषेधाज्ञा मात्र नियन्त्रणको पहिलो आधार होइन।’ टोल-टोलका महिलालाई कोरोना देखिएको छ त्यो भनेको समुदायमा कोरोना देखिएको भन्ने आधार रहेको उनले जानकारी दिए। अहिलेको पूर्ण बन्दमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह तीनै सरकार मिलेर जनताको स्वास्थ्य रक्षा गर्नलाई अग्रसर हुनुपर्ने  तिवारीको भनाइ छ।

‘जनतालाई घरमा थुनेर कोरोना थुन्न सकिएला तर भाइरसलाई थुन्न सकिदैन। निषेधाज्ञाले मात्र कोरोना नियन्त्रण हुदैन,’ उनको तर्क छ। प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका जनप्रतिनिधिले मिलेर निषेधाज्ञा गरेका छन यो समयमा के गर्न सकिन्छ त्यसको कुनै तयारी नगरेको उनको धारणा छ। आइसोलेसन र स्वास्थ्यकर्मीको व्यवस्थापन पहिलो प्राथमिकता निषेधाज्ञाको समयमा सरकारले तीनवटा कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता समीर कुमार अधिकारी बताउँछन्।

पछिल्लो केही दिन यता संक्रमणको दर बढदै गएकोले स्थानीय सरकार र जिल्ला प्रशासन निषेधाज्ञा गर्न बाध्य भएको उनले बताए। नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाएको कारण निषेधाज्ञा गर्न सरकार बाध्य भएको हुन सक्ने उनको दाबी छ। कोभिड अस्पताल उपचार केन्द्र, आइसोलेसन र जनशक्ति बढाउने सरकारको तयारी उनले प्रस्ट पारे।

‘काठमाडौं उपत्यकाको केही होटललाई आइसोलेसन बनाउने तयारी छ,’ अधिकारीले भने,’ ६ हजार मानिस अट्ने आइसोलेसन बनाउने तयारी भइरहेको छ।’ सरकारले स्थानीय तह र प्रदेश सरकारलाई अस्पतालमा आइसियु र आइसोलेसन बनाउनको लागि बजेट विनियोजन गरिएको उनले जानकारी दिए। ‘भिडियो कलबाट संक्रमितको हेरचाह गरिन्छ’ पछिल्लो समय संक्रमित बढदै गएपछि जिल्ला प्रशासन र स्थानीय तहले निषेधाज्ञा गर्दै आएको छ।

संक्रमितको संख्या बढदै गएकोले आइसोलेसन बेडको संख्या बढाउने लक्ष्य रहेको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी बताउँछन्। संक्रमितको सम्पर्कमा आएका ७ सय भन्दा बढी मानिसको कन्टयाक ट्रेसिङ गरिसकेको उनले जानकारी दिए। ‘नगरपालिकाले बनाएको आइसोलेसनमा ३ जना संक्रमित बसिरहेका छन,’ सुवेदीले भने,’ नगर भित्र देखिएका प्राय संक्रमितलाई अस्पतालमा लगि भर्ना गरिएको छ।’

आइसोलेसन सेन्टरमा बेड, वाइफाई र खानेकुरा दिने गरेको उनले बताए। फोन र सिसीटीभी मार्फत संक्रमितलाई निगरानी गरिरहेको उनले बताए। उनले भने,’ संक्रमितलाई स्वास्थ्यकर्मीले भिडियो कलबाट संक्रमितको निगरानी गरिएको छ।’ कोभिड रोकथाम तथा नियन्त्रण  व्यवस्थापनको लागि ४७ लाख ८० हजार खर्च भएको उनले जानकारी दिए।

##Thahakhabar##