बाँकेमा कोरोना संक्रमित कैदीको मृत्यु

नेपालगन्ज – बाँकेमा उपचार गराइरहेका सुर्खेतका एक कैदीको सोमबार कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुर्खेत, सहारेका ५८ वर्षीय ती व्यक्तिको भेरी अस्पतालमा उपचारका क्रममा बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

दमको बिरामी रहेका उनलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि सुर्खेत कारागारबाट नेपालगन्ज कारागारमा सारिएको थियो । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका उनको भदौ २१ गते स्वाब लिइएकोमा त्यही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई २२ गते अस्पताल भर्ना गरिएको थियो ।

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । तीमध्ये चार जना बाहिर जिल्लाका छन् ।