बेलौरीमा रहेको बैंक अफ काठमाण्डौमा कार्यरत एक जनामा कोरोना संक्रमण,सेवा प्रवाह स्थगित

कञ्चनपुर- बेलौरीमा रहेको बैंक अफ काठमाण्डौ बेलौरी शाखामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंकका एक कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

कोभिड– १९ को संक्रमण पुष्टि भएपछि बैंक अफ काठमाण्डौ बेलौरी शाखा र संगै जोडिएको राष्ट्रिय वाणिज्य बैंक बेलौरी शाखाले केही दिनका लागि सेवा प्रवाह स्थगित गरेका छन् ।

संक्रमित कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीहरु र सोही भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंक बेलौरी शाखाका कर्मचारीहरुको पिसिआर जाँच गरी रिपोर्ट नेगेटिभ नआए सम्मका लागि कम्तिमा ७ दिनसम्म सेवा बन्द गरी कोभिड- १९ रोकथाम तथा नियन्त्रणमा सहयोग गरिदिन बेलौरी नगरपालिकाले दुई वटै बैंकका शाखाहरुलाई परिपत्र गरेको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद चौधरीले जानकारी दिए ।

यसरी बेलौरी क्षेत्रमा समेत कोरोनाको संक्रमण बढन सक्ने भएकाले सबै नगरबासिहरुमा आवश्यक सुरक्षा सर्तकता अपनाउन नगर प्रमुख पोतिलाल चौधरीले अनुरोध समेत गर्नु भएको छ ।