बझाङमा जिप दुर्घटना हुँदा ४ जना घाइते, एकको अवस्था गम्भिर

महेन्द्रनगर –बझाङको जयपृथ्बी नगरपालिका–११ भोपुरमा जिप दुर्घटना भएको छ । दुर्घटना परि बझाङका ४ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । सदरमुकाम चैनपुरबाट सुनिडगाड जाँदै गरेको से १ ज १११९ नम्बरको जिप सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्काले बताए ।

दुर्घटनामा जयपृथ्वी नगरपालिका–११ का २१ वर्षीय अग्निराज जोशी गम्भिर घाइते भएका हुन् । उनको टाउको र शरीरमा चोट लागेको छ ।जोशीलाई तारा एअर मार्फत नेपालगन्ज लगिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । अन्य ३ जनाको अवस्था सामान्य रहेको छ ।

उनीहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । दुर्घटनामा मष्टा गाउँपालिकाका ४२ वर्षीय सवारी धनी शेरबहादुर थापा, सुर्मा गाउँपालिकाका २३ वर्षीय सुयोग बोहरा र जयपृथ्वी नगरपालिकाकाका २० वर्षीय भरत जोशी रहेका छन् ।