बेलडाँडी प्राथामिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सुरु

कञ्चनपुर- जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नम्बर -२ मा रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा बेलडाँडीमा अल्ट्रासाउण्ड मेसिनको उद्घाटन गरिएको छ । मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीममा एक औपचारिक कार्यक्रम गरेर अल्ट्रासाउण्ड मेसिन जडान गरेको हो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोग र बेलडाँडी गाउँपालिकाको सहयोग तथा समन्वयमा बेलडाँडी प्राथामिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड मेसिन जडान गरिएको बेलडाँडी स्वास्थ्य शाखाका प्रमुख माधवानन्द भट्टले जानकारी गराउनु भयो ।

अल्ट्रासाउण्ड सेवा सुरु भएपछि मातृमृत्यु दर र बाल मृत्युदर घटाउने सरकारको मुख्य योजना रहेकोले यसबाट ग्रामिण क्षेत्रका सेवाग्राहीहरुलाई प्रत्यक्ष लाभ हुनेछ ।

उदघाटन कार्यक्रमका प्रमुख अतिथि तथा बेलडाँडी गाउँपालिकाका प्रमुख धन बहादुर थापाक्षेत्रीले भने यो सेवालाई प्रभावकारी बनाउन गाउँपालिकाको अथक प्रयास रहने भन्दै स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा गाउँपालिकाको विशेष सहयोग रहने जानकारी गराउनु भयो । यस क्षेत्रका महिलाहरुलाई अल्ट्रासाउण्ड मेसिन नभएका कारण भोग्नुपरेको समस्या गाउँपालिकाको तर्फबाट सामाधान गर्ने प्रयास जारी रहेको समेत उहाँले बताए ।

कार्यक्रमका सभापती व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष प्रेमराज खातीले भने यो बेलडाँडी स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न अस्पतालको रुपमा स्थापित गर्ने धोको रहेको बताउदै अहोरात्र खटिने स्वास्थ्यकर्मीहरुले पुर्याउनु भएको अथक सहयोग प्रति आभार व्यक्त गर्नु भएको थियो । उहाँले सेवाग्राहीहरुलाई अझै राम्रो तरिकाले सेवा दिन प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिनु भयो ।

यस अल्ट्रासाउण्ड मेसिनले महिलाहरुलाई फाइदा हुने र बालमृत्युदर र मातृमृत्युदर घटाउन मदत पुग्ने प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीका स्वास्थ्यकर्मी महेश खत्रीले बताउनु भयो ।