नयाँ अध्यादेशले सरकारकाे सर्वसत्तावादी सोच झनै प्रष्ट भएकाे छ : देउवा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद् सम्बन्धी नयाँ अध्यादेश लिएर आपत्ति जनाउनुभएकाे छ ।  सभापति देउवाले संसद् अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएकाे बताउनुभएकाे छ । सरकारकाे यस कदमबाट सर्वसत्तावादी सोच झनै प्रष्ट भएकाे उहाँकाे भनाइ छ ।

उहाँले समाजिक सञ्जाल ट्विटरमा लेख्नुभएकाे छ, ‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नु हास्यास्पद छ । यसमा नेपाली कांग्रेसकाे प्रष्ट विमति छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुभएको हाे । मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी (पहिला शंसोधन) अध्यादेश २०७७ जारी गर्नुभएको हो ।

नयाँ अध्यादेश राजपत्रमा पनि प्रकाशित भइसकेको छ । अध्यादेश अनुसार अब अध्यक्षसहित बहाल रहेका बहुमत सङ्ख्याको आधारमा बैठक बस्न सक्नेछ  ।

यसअघि पाँच जना सदस्य उपस्थित भएमा मात्रै बैठक सुरु गर्न सकिने व्यवस्था थियो । यस्तै प्रत्येक विषयको निर्णय सर्वसम्मतिका आधारमा हुने उल्लेख रहेकोमा अब बहुमतका आधारमा निर्णय गर्न सकिने उल्लेख छ ।