कांग्रेस बैठक : निर्वाचनमा जाने कि विरोध गर्ने अन्योल कायमै

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चार नेताले आफ्नो धारणा राखेसँगै भोलिसम्मको लागि स्थगित भएको छ।
हिजोदेखि जारी केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै संस्थागत धारणा बनाउने बताइएको छ।

आजका बैठकमा रामशरण महत, बलबहादुर केसी, गगन कुमार थापा र आनन्द ढुंगानाले आ-आफ्नो धारणा व्‍यक्त गरे।  हिजो सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले धारणा राखेका थिए।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेसँगै कांग्रेस पनि दुई धारमा विभाजित छ। सभापति देउवाले हिजो निर्वाचनमा जानुपर्ने बताएका थिए भने पौडेलले संसद् विघटनको विरोधमा उत्रिनुपर्ने बताएका थिए।

संसद् विघटनसँगै विरोधमा उत्रिएका गगन थापाले आज पनि प्रधानमन्त्रीको असंवैधानिक कदमबाट कांग्रेस कडा रूपमा प्रस्तुत हुनुपर्ने बताए। बैठक भाेलि दिउँसाे १ बजे बस्ने पार्टी मुख्यसचिव कृष्ण पाैडेलले जानकारी दिए।