मतदाता सूची जारी गर्दै आयोग

काठमाडौं : निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि भइरहेका तयारी र कार्यक्रमबारे दलहरूलाई जानकारी दिँदै माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने प्रस्ताव गरेको छ।

सरकारले वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेकाले आयोगले त्यसबारे भइरहेको आन्तरिक तयारीबारे आइतबार दलहरूलाई जानकारी गराएको हो। यद्यपि, प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

आयोगले ११ दलका नेताहरूसँगको छलफलमा माघ १५  गते मतदाता नामावली प्रकाशन गर्ने प्रस्ताव गरेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मध्यावधि निर्वाचन सम्पन्न गर्न आयोगबाट सम्पादन भइरहेका कामबारे दलहरूलाई जानकारी गराएका थिए। सरकारले निर्वाचनको मिति घोषणा गरेकाले मतदाता नामावली संकलन कार्य स्थगन गरिएको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता नामावली प्रकाशन गर्ने प्रस्ताव गरेका थिए। निर्वाचनको मिति घोषणापश्चात् कानुनी व्यवस्थाबमोजिम मतदाता संकलन कार्य स्थगन भएको र मतदाता नामावली अद्यावधिक कार्य चुस्त र दुरुस्त रूपमा सम्पन्न गर्न/गराउन तथा मतदानस्थल तथा केन्द्र निर्धारणसम्बन्धी कार्यमा राजनीतिक दलको तर्फबाट सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न प्रमुख आयुक्तले दलहरूसमक्ष प्रस्ताव गरेको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

त्यस क्रममा दलका नेताहरूले मतदान केन्द्र र मतदानस्थल निर्धारण गर्दा भौगोलिक विकटता, केन्द्र तथा स्थलको सेवा–सुविधा, मतदाताको सहज पहुँचको अवस्था, भौतिक पूर्वाधारको अवस्थालाई ध्यान दिनुपर्ने सुझाव दिएका थिए। मतदाता नामावलीमा उजुरी, दाबी विरोधका लागि निर्धारित समय कम भएकाले समय थप हुनुपर्ने, प्रचारप्रसारलाई व्यवस्थित बनाउनुपर्ने, १८ वर्ष उमेर पूरा गरेका सबै मतदाताले मतदान गर्न पाउने सुनिश्चितता गर्नुपर्ने उनीहरूको भनाइ थियो। निर्वाचन खर्चको पारदर्शिता हुनुपर्ने, विदेशमा रहेका नेपाली नागरिकले समेत मताधिकार प्रयोग गर्न पाउने व्यवस्था हुनुपर्ने, कोरोना भाइरसको स्वास्थ्य प्रोटोकल निर्धारण गर्नुपर्नेलगायत पक्षमा उनीहरूले आयोगको ध्यानाकर्षण गरेका थिए।

नेकपाको दाहाल–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले भने प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतलाई प्रभावित पार्ने गरी निर्वाचनको कार्यक्रम अघि नबढाउने ध्यानाकर्षण गराएका थिए। ‘अहिलेको बेलामा निर्वाचन हुन सक्दैन’, पाण्डेले भने, ‘निर्वाचन आयोगले किन कार्यक्रम अघि बढाउन लागेको हो भनेर प्रश्न गरेका छौँ।’ कांग्रेस नेता आनन्द ढुंगानाले मतदाता नामावली र मतदान केन्द्रबारे आयोगले जानकारी गराएको बताए।