लम्कीमा बसको ठक्करबाट युवतीको मृत्युपछि तनावग्रस्त, प्रहरीको गोली लागेर दुई घाइते

कैलाली- कैलालीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्। आज बिहान धनगढीबाट टीकापुरतर्फ जाँदै गरेको बसले पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको थियो।

मृतकका आफन्त र आक्रोसित स्थानीयले सडक अवरूद्ध पार्दै टायर बालेर प्रदर्शन गरेका थिए।

उनीहरूले शवसहित इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहँदा ढुंगामुढा सुरू गरेपछि अश्रुग्यास प्रहार गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता हिक्मत थापाले भीडले प्रहरीमाथि नै ढुंगामुढा गर्न थालेपछि गोली चलाउनु परेको बताए।

उनका अनुसार प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्।

घाइतेलाई उपचारका लागि कोहलपुर लगिएको छ भने केही प्रहरी पनि ढुंगा लागेर घाइते छन्।  घाइतेको नामठेगाना खुलेको छैन।

मंगलबार लम्कीचुहा नगरपालिकाको लम्की चोकमा टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा सोही नगरपालिका-१ की २२ वर्षीया कमला देवकोटा बुढाको मृत्यु भएको थियो।

ठक्करबाट घाइते भएकी उनको लम्कीकै लालरत्न अस्पतालमा उपचारका लागि पुर्‍याउने बित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।

बर्दगोरिया गाउँपालिका १ का ३१ वर्षीय बस चालक पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि पूर्व-पश्चिम  राजमार्ग अवरूद्ध छ।