भारतीय टेलिभिजन पत्रकार रोहित सरदानाको निधन

काठमाडौँ — भारतीय टेलिभिजन पत्रकार रोहित सरदानाको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणपछि उपचाररत पत्रकार सरदानको शुक्रबार निधन भएको हो । उनी ४२ वर्षका थिए । यसअघि अप्रिल २४ मा सरदानाले ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । एक हप्तअघि ज्वरो र बाँकी लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको उनले बताएका थिए । तर पहिलेभन्दा स्वास्थ्य अवस्थामा सुधार भएको पनि उनले बताएका थिए ।

रोहित सरदानाका सहकर्मी तथा इन्डिया टुडेका वरिष्ठ पत्रकार राजदीप सरदेसाईले पनि ट्वीटमार्फत सरदानाको निधनको पुष्टि गरेका छन् । कोरोना संक्रमण भए पनि उनको निधन हृदयघातबाट भएको बताइएको छ ।

त्यस्तै जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले पनि ट्वीट गर्दै रोहित सरदानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सरदानाले जी न्युजमा पनि काम गरेका थिए । उनले सन् २०१७ मा जी न्युज छाडेर आज तक गएका थिए । आजतकमा उनले ‘दंगल’ चलाउँथे । उनले पछिल्लो समय राति दस बजे आउने कार्यक्रम ‘दस तक’ पनि चलाउँदै आएका थिए