भीमदत्त नगरपालिकाले ब्लड बैंकका लागि रेडक्रसलाई चार लाख सहयाेग

कञ्चनपुर- भीमदत्त नगरपालिकाले ब्लड बैंक संचालनका लागि रेडक्रसलाई चार लाख रुपैया आर्थिक सहयोग गरेको छ ।

भीमदत्त नगरपालिकाले मंगलबार एक कार्यक्रमका विच नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरलाई ब्लड बैंक संचालनका लागि चार लाख रुपैया आर्थिक सहयोग गरेको हो ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले रेडक्रस सोसाईटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीलाई चार लाखको चेक हस्तान्तरण गरेका छन ।

भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले हरेक बर्ष रेडक्रसलाई रगत बैंक संचालनका लागि नगरपालिकाका तर्फबाट आर्थिक सहयोग गर्दै आएको बताए ।

‘हामीले चुनावका बेला जनताको स्वास्थ्यका लागि चुनावी प्रतिबद्धता गरेका थियौँ, ‘प्रवक्ता चन्दले भने, ‘त्यही कार्यक्रमको निरन्तरता हो ।’

भीमदत्त नगरपालिकाले ०७४ सालदेखि रेडक्रसलाई रगत अभाव हुन नदिनका लागि निरन्तर आर्थिक प्याकेज सहयोग गर्दै आएको छ ।

‘रगतको अभावले कुनै पनि नागरिक उपचारबाट बञ्चित हुन नपरोस, ‘प्रवक्ता चन्दले भने, ‘हामीले निःशुल्क रगतका लागि रेडक्रसलाई रकम उपलब्ध गराएका हौँ ।’

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले नागरिकको स्वास्थ्यका लागि नगरका तर्फबाट रेडक्रसलार्ई आर्थिक सहयोग दिईएको बताए ।

चेक बुझ्दै नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीले नगरपालिकाले गरेको सहयोगबाट ब्लड बैंक संचालनमा सहज हुने बताए ।